सलह खान लागेको आज तेस्रोदिन भयो, लगातार चार छाक खाएँ कुनै अफ्ठेरो महशुस गरेको छैन

News

सलह खान लागेको आज तेस्रोदिन भयो । लगातार चार छाक खाएको छु । कुनै अफ्ठेरो महशुस गरेको छैन । खाएको केही समय पेट अरिलो हुन्छ । टन्न अघाएको महशुस गराउँछ ।

धेरैले यसको स्वादका बारेमा जिज्ञासा राख्नुभएको छ । यस्तै हुन्छ भन्न सकिँदैन । धाने फट्याँग्रा खाएकालाई त्यति तिख्खर लाग्दैन । त्यसको पनि स्वाद नचाखेकालाई भन्न सकिन्छ, यो गन्धहिन हुन्छ । नमिठो स्वाद छैन । अमिलो पिरो वा कुनै प्रकारको नराम्रो स्वाद हुन्न ।

नेपालमा प्रवेश गरेको दिन देखिनै स्वास्थ्य क्षेत्रका विज्ञहरुले सलहमा अत्याधिक प्रोटिन र कार्वोहाइडेड पाइन्छ भन्नुभयो । मान्छेले खाँदा स्वास्थ्यका लागि राम्रो हुन्छ भन्ने उहाँहरुको भनाईले मलाई निकै उर्जा दियोे । आयो भने जसरी पनि खान्छु भन्ने मानसिकता बनाएँ । मलाई जात धर्मका कारणले कुनैपनि मासु खान अहिलेसम्म रोकेको छैन ।

नभन्दै आफ्नै घर क्षेत्रका बारीमा आएर सलह बसेको रहेछ । मैले खाने हो भनेपछि घरमा छोपेर राखेछन । अफिसबाट फर्किदै गर्दा बाटोमा कसकसको घरमा छ भनेर खोज्दै गएँ । साली विमलाको घरमा पाकेको रहेछ । त्यही खाएँ । अनि घरमा गएको भर्खरै पखेटा केलाउँदै रहेछन ।

त्यतिबेर पनि पर्खिन सकिन, कपडा बदलेर फेरि सालीकै घरमा पुगेर धेरै वटा सलह कपाकप खाएँ । कुनै खास स्वाद नभएर पनि हुन सक्छ धेरैवटा खाँदा पनि धित मरेन ।

त्यसपछि नजिकै छिमेकी सुशीलाको घरमा गएँ । त्यहाँ पनि भर्खर फ्राई गरेर उतारेको फेला पारेँ । खानुस भन्नुभयो । फोटो खिच्दै खाएँ । त्यहाँ खाने अलि धेरैजना थियौ । केहीले खान डर मानेका थिए ।

तातो पानीमा डुबाउने, त्यसका बाहिरको ठुला पखेटा फाल्ने, मरमसला लगाउने र तेलमा तोरर पकाउन अलि ढिलै हुन्छ । दुई घरमा खाएर आउँदासम्म पनि आफ्नो घरमा तयार भएको रहेन छ । फेरी गाउँतिर निस्किएँ । अर्को छिमेकी हिमालको घरमा गएँ । त्यहाँ अमिलो हालेर सलह पकाएछन ।

खास्सै पाकेन छ । खाँदा अलि क्याच क्याच जस्तो भयो । चपाउन पनि मुश्कील भयोे । चाम्रो मानेर केही खोस्टा निल्न नसकी चपाई चपाई रस निलेर थुकेँ ।

त्यसपछि घर गएँ । श्रीमति (सम्झना) ले मसला हालेर मज्जाले फ्राई गर्नुभयो । ठ्याक्कै पाक्दै थियो । निकालेर झुरुम झुरुम खाईयो । छोरी (विजया) ले दुई तीनवटा मात्रै खाईन । साढुदाई (लालबहादुर पुन)ले अलिकति खानुभयो ।

मैले भने पुरा गाँस हालेर मज्जाले खाएँ । एकैपटकमा दुई तिन वटा मुखमा हालेपछि मात्रै आनन्द आउँछ । खाएर बचेको राखेँ । त्यसदिन भात थोरै खाएँ । किन भने पेट भरी सलह थियो ।

हरेक छाकमा झिक्दै खाँदै गरेँ । दिउँसोको उज्यालोमा होस कि रातमा कुनै फरक परिन । हेरेर घिन मानिन ।त्यसलाई खानेबेला मुन्टो भाँचेर तान्दा स्वात्तै भित्रको दिसा काँडो निकाले जस्तै गरी आउँदो रहेछ । कालो भाग भाँचेर बाँकी टाउको र जिउ खाने तरीका पनि रहेछ । मैले त्यसो गरिन दिसैसंग खाएँ ।

घास पात खाएको अग्र्यानिक लाग्यो । फेसवुक पेजमा ७० वटा सलह खाएँ लखेको छु । खासमा त्यो भन्दा बढि खाएको हुुँ । एकैचोटी चार घर डुली डुली खाएँ । त्यसदिन दशै आए जस्तो भयो । मकै बारीमा भेटिन्छन् अझै खोज्दैछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *