पार्टीलाई जे कारवाही गर्नुछ गरोस्, म विधेयक फिर्ता लिन्नँ’

News

काठमाडौँ । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई संसद सचिवालयबाट विधेयक फिर्ता लिन आग्रह गर्न नेताहरु उनकै घरमै पुगेका छन् । समाजवादी पार्टीको संसदीय दलले विधेयक फिर्ता लिन दिएको निर्देशन पत्र बुझाउन हिजो सांसद गिरीलाई पटक–पटक फोनबाट सम्पर्क गर्दा फोन उठेको थिएन । पछि गिरीको फोन नै अफ भएपछि पार्टीका नेताहरु निवासमै पुगेका हुन् ।

पत्र लिएर संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया पुगेका थिए । संसदीय दलमा दर्ता गराएको विधेयक फिर्ता लिनका लागि समाजवादी पार्टीका संसदीय दलका नेता उपेन्द्र यादवले स्वयम् सरिता गिरीलाई फोन गरेर भन्न चाहेका थिए । तर, मोबाइल स्वीच अफ थियो । त्यसपछि उपेन्द्र यादवले पार्टीका सांसद रामसहाय यादवसहितका नेतालाई उनको निवासमै पठाएका थिए ।

साँझ छ बजे रामसहाय यादव, उमाशंकर अरगरिया, प्रदीप यादव, रामबाबु यादवलगायतका नेताहरु गिरीको निवासमा पुगेका थिए । उनीहरुले विधेयक फिर्ता लिन आग्रह गर्दा गिरीले ‘पार्टीलाई जे कारवाही गर्नुछ गरोस्, म विधेयक फिर्ता लिन्नँ’ भन्ने जवाफ दिएकी थिइन् । शुरुमा उनले त नेताहरुसँग कुरा गर्न नै मानेकी थिइनन् । तर घरमै आइसकेकालाई किन फिर्ता पठाउनु भनेर कुराकानी गरेकी थिइन् ।

संसदीय दलको बैठकबाट सरकारले प्रस्तुत गरेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको भए आफ्नो गल्ती ठहरिने तर दलले नै त्यस्तो कुनै निर्णय गरेको नगरेकोमा फिर्ता लिन निर्देशन दिन नमिल्ने उनले नेताहरु समक्ष कुरा राखेकी थिइन् । सांसद गिरीको घरमा पुगेका एक नेताका अनुसार नेतृ गिरीले संसदमा आफूले सो सरकारी विधेयकको विरोधमा बोल्दा त्यतिबेला कुनै नेताहरुले किन बोलेको वा बोल्नु हुँदैन नभनेको बरु कतिपय नेताले ठीक बोलेको भनि ताली बजाएको पनि स्मरण गराएकी थिइन् ।

यता, पार्टी संसदीय दलको बैठक तत्काल बस्नुपर्ने र त्यही बैठकमा आफूले विस्तृत कुरा राख्ने गिरीले बताएको प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए । ‘सरकारी विधेयकको पक्षमा कि विपक्षमा रहने बारे संसदीय दलले कुनै निर्णय नभएको कुरा सही हो । तर कुनै पनि सांसदले विधेयक वा संशोधन विधेयक दर्ता गराउँदा दललाई जानकारी गराउनुपर्छ,’ उनले भने । यस विषयमा दलसँग सल्लाह गर्नुपर्ने तर सांसद गिरीले दललाई त्यस्तो कुनै जानकारी नगराएको उनले बताए ।

‘व्यक्तिगत रुपमा विधेयक दर्ता गराउन मिल्छ । तर त्यो कुराको जानकारी दललाई हुनुपर्ने हो । तर त्यस्तो जानकारी नगराएको कारण संसदी दलले सो विधेयक फिर्ता लिन निर्देशन दिएको हो,’ उनले भने, ‘कुनै पनि नेता वा सांसद दल वा पार्टीभन्दा माथि हुँदैन ।’ उनले हालसम्म फिर्ता लिएको वा नलिएको आधिकारीक जानकारी नआएको बताउँदै उनले फिर्ता नलिए त्यसको बारेमा दलले निर्णय लिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *