राजा वीरेन्द्र र प्रधानमन्त्री रिजालको पालामा हट्यो नक्साबाट चुच्चो भाग !

News

३२ जेठ, काठमाडौं । ‘धेरै पत्रकारले त्यस्तो ठाउँमा कसरी जनगणना गराउनु भयो ? डर लागेन, कत्रो हिम्मत् ? भनेर सोध्छन् । उनीहरूलाई भन्ने गरेको छु–निर्विवादित क्षेत्रमा निर्भीकताका साथ जगगणना गराएँ । त्यतिबेला लिम्पियाधुरासम्म नेपाल हो भन्नेमा कहिँकतै विवाद थिएन ।

भारतको धार्चुला, पिछुवागढतिर जनगणना गर्न गएको भए पो समस्या हुन्थ्यो त । मेरो मुलुकुभित्र जनगणनाका लागि जाँदा के को डर ? कसको डर ?’ योे भनाई हो, २०१८ सालमा डोटी, बैतडी र डडेलधुरामा जनगणना गराएका वरिष्ठ पत्रकार भैरव रिसालको । उनी २०१७ सालमा २६ महिना तथ्यांक विभागको ‘रिजनल अफिसर’ मा नियुक्त भएका बेला आफूले नाभी, कुटी, गुञ्जी लगायतका क्षेत्रमा जनगणना गराएको बताउँछन् ।

वरिष्ठ पत्रकार रिसालले जनगणना गराएको गुञ्जीका हरिसिंह बुढा, टिंकरका रतन बुढा, नाभीका हरिकृष्ण बुढा, गब्र्याङका मोहनसिंह बुढा लगायतले २०३५ सालमा पनि नेपाल सरकारलाई बाली (कर) बुझाउँदै आएको प्रमाण सुरक्षित रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

माथिका दृष्टान्तले साढे तीन दशकअघिसम्म पनि सन् १८१६ को सुगौली सन्धि अनुसार नै लिम्पियाधुरा मुहान भएको काली (महाकाली) पूर्वका नाभी, कुटी, गुञ्जी लगायतका गाउँहरू नेपालको रहेको स्पष्ट देखाउँछ ।

अब प्रश्न उठ्छ, बि.स. २०३२ सालमा नेपालले आफ्नो नक्सा प्रकाशन गर्दा कालापानी, लिपुलेक पश्चिमका भूभाग किन हटाइयो ? ‘२०३२ सालमा हटाइएको भन्दा पनि नसमेटिएको हो’ नापी विभागका पूर्व महानिर्देशक पुन्यप्रसाद ओली भन्छन् ।

नापी विभागमा नक्सासम्बन्धी काम गर्ने मुख्य निकाय स्थलरुप नापी महाशाखा (टोपो) मा कार्यरत पूर्व महानिर्देशक ओली लिम्पियाधुरा क्षेत्रको नक्साको विषयमा द्विविधा भएपछि सरकारलाई जानकारी गराएको स्मरण गर्छन् । उनी भन्छन्, ‘अहिलेलाई भारतसँग जति सहमति भईसकेको छ त्यतिमै राखेर नक्सा निकाल्नु भन्ने निर्देशन आएको भन्ने जानकारी पाएका थियौं ।’

पूर्व महानिर्देशक ओलीका अनुसार सरकारले त्यतिबेला तत्कालका लागि मात्रै लिम्पियाधुरा क्षेत्र नक्सामा नराख्ने मनशाय देखाएको बुझिन्थ्यो । कतिपयले दरबारकै निर्देशनमा नाभी, गुञ्जी, कुटी लगायतका नेपाली गाउँहरू भारतर्फ पार्ने गरी लिम्पियाधुरा नक्सामा नराख्न तयार भएको आरोप लगाउँदै आएका छन् ।

नेपालले चुच्चो बिनाको नक्सा प्रकाशन गर्ने बेलामा वीरेन्द्र राजा भईसकेका थिए । त्यस हिसाबले राजा वीरेन्द्रको पालामा नक्सा प्रकाशन गर्दा चुच्चो भाग हटेको देखिन्छ । २०३० देखि २०३२ सालसम्म प्रधानमन्त्री थिए, नगेन्द्रप्रसाद रिजाल । त्यतिबेला यो प्रकरणमा रिजालको प्रत्यक्ष भूमिका थियो÷थिएन भन्ने नखुलेको उनका मन्त्रीमण्डलका एक सदस्य बताउँछन् ।

२०५५ सालमा गठित सीमा अतिक्रमण प्रतिरोध समितिका सदस्य ह्ररण्यलाल श्रेष्ठ भने रिजाल प्रधामन्त्री भएका बेला नेपालको नक्साबाट चुच्चे भाग हट्नुलाई संयोग मात्रै मान्न तयार छैनन् । ‘पञ्चायतका प्रधानमन्त्रीहरू मध्ये सबैभन्दा कमजोर प्रधानमन्त्री रिजालको पालामा लिम्पियाधुरा क्षेत्र नक्साबाट हटेको देखिन्छ, यो संयोग नभई भारतको योजनाबद्ध काम हो’ श्रेष्ठ भन्छन् ।

४० हजार हेक्टरको चुच्चो सुगौली सन्धिले सीमा नदी निर्धारण गरेको काली नदी पूर्वका नाभी, कुटी, गुञ्जी लगायतका भूभाग नेपालको नक्सामा नपरेपछि भारतलाई अतिक्रमण गर्न सजिलो भएको देखिन्छ । यद्यपि नेपालको नक्साभित्रै भूभाग पनि अतिक्रमण गर्न भारतले छोडेको छ ।

शनिबार प्रतिनिधिसभाबाट अनुमोदन भएको नक्सा भन्दा पहिलाकै नक्सा भित्रको करिब ६ हजार हेक्टर (कालापानी क्षेत्रमा मात्रै) नेपाली भूमि भारतले अतिक्रमण गर्दै आएको छ । खासगरी लिपुखोला भन्दा पूर्वको सानो खोल्सालाई काली दाबी गर्दै कालापानी, लिपुलग्न क्षेत्रमा पहिलाकै नक्साभित्रको भूभागमा पनि भारतले कब्जा जमाएको देखिन्छ ।

लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रमा भारतले ३९ हजार ५०० हेक्टर भूभाग अतिक्रमण गरेको जानकारहरू बताउँछन् । उनीहरू नक्साको चुच्चो भागमा करिब ३९५ वर्गकिलोमिटर नेपाली भूमि पर्ने बताउँछन् ।

यो क्षेत्रमा सिमा विवाद रहेको भारत स्वयमले समेत स्विकारीसकेको छ । थियो नेपालको नक्सामा चुच्चो भाग जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रतिनिधिसभामा भने, ‘कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नक्सा नेपालको नक्सामा थियो, ५८ वर्ष पहिले । त्यो त हाम्रो जमिन छँदै थियो नि । कुन देश बेचुवाले बेच्यो । देश बेचुवाको खोजी हुनुपर्‍यो, नेपाली जनताले त्यो पनि खोजिरहेको छ ।’

वीरेन्द्र राजा र नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री भएका बेला प्रकाशित नक्सामा चुच्चो भाग नराख्न ककसले भारतलाई साथ दिए ? खोजीको विषय हो । तर नेता महतोले भने जस्तै नेपालको नक्सामा लिम्पियाधुरा सहितको चुच्चो भाग भने अवश्य थियो ।

सन् १८४० मा ‘दि सिभिल एण्ड मिलिटिरी स्टेसन्स्’ द्वारा प्रकाशित नक्सामा लिम्पियाधुरा सहितको नेपालको चुच्चो नक्सा देख्न सकिन्छ । यो नक्सामा कुटी लगायतका गाउँहरू नेपालमै देखाइएको छ ।

त्यस्तै, सन् १८५७ मा ‘विलियम एच आलन एण्ड कम्पनी’ले प्रकाशित गरेको ‘म्याप अफ दि वेस्टर्न प्रोभिन्सेस् अफ हिन्दुस्तान, दि पञ्जाब, राजपुताना, सिन्धे, काबुल एण्ड कम्पनी’ शीर्षकको नक्सामा पनि लिम्पियाधुरा मुहान भएकै कालीलाई अन्तराष्ट्रिय सिमाना नदी भन्ने उल्लेख छ । यसमा पनि कुटी गाउँ नेपालमै देखाइएको छ । अर्थात् यो नेक्सामा पनि चुच्चो भाग छ ।

सुगौली सन्धिले अन्तर्राष्ट्रिय सिमाना निर्धारण गरेको नदी लिम्पियाधुरा मुहान भएकै काली हो भन्ने उल्लेख भएका नक्साहरू त भारतले नै दर्जनौं पटक प्रकाशित गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *