कोरोनाबारे प्रधानमन्त्रीको विश्लेषण : साउनमा उच्‍च, फागुनमा नियन्त्रण

News

४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण साउन अन्त्यतिर पिक (उच्च विन्दु)मा पुग्ने विश्लेषण सुनाएका छन् । त्यसपछि विस्तारै कोरोना संक्रमणको ग्राफ ओरालो लाग्ने भन्दै उनले भने, ‘दशैं तिहार र छठ जस्ता चाडहरु आउँदैछन् । यो चाड सधैँ रमाइलो हुन्थ्यो । यसपटक फेरि संक्रमण बढाउँछ भन्ने अवस्था छ ।

यदि यसले हाम्रो ग्राफ बढाइदियो भने उधो झर्दै गरेको ग्राफ मंसिरमा फेरि अलिकति मास्तिर जान सक्छ ।’ मंसिर अन्त्यबाट ओरालो लाग्ने भन्दै उनले भने, ‘फागुनको महिना सम्भवत नियन्त्रणको महिना हुन्छ ।’ तर संक्रमितहरुलाई सहज रुपमा आउन दिन नहुने र बाहिरबाट आउनेहरुलाई क्वारेन्टिनमा राख्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व स्वास्थ्य संगठनको निर्देशन मान्नु परेकाले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ठूलो रहेको बताएका छन्।बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्म मृत्यु भएका २० जनाको कोरोनाकै कारण मृत्यु नभएको दाबी गरे। उनले तीमध्ये दुई तीन जनाको मात्र कोरोनाबाट मृत्यु भएको बताए।

‘कोरोनाबाटै मृत्यु भएको दुई तीन वटा केस हुनसक्छ। बाँकीको भने अन्य कारणले मृत्यु भएको हो तर पछि कोरोनाले छोएको अवस्था हो,’ उनले भने। प्रधानमन्त्री ओलीले उपचार विधि र नेपालीहरूको प्रतिरोधात्मक क्षमताका कारण निधन हुनेको संख्या धेरै कम रहेको जिकिर गरे।उनले विश्वको धेरै देशको तुलनमा नेपालमा कोरोनाबाट हुने मृत्युदर निकै कम रहेको जनाए। प्रति १० लाखमा मृत्युदर ०.७ प्रतिशत छ। यो संसारको धेरै देशको भन्दा एकदम न्यून हो,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *