दुबई बाट नेपाल फर्किएका १०१ जना महिला मध्ये ९४ जना गर्भवती

News

काठमाण्डौ – संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट पहिलो चार्टड बिमान उडेको छ । १ सय ४८ जना नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज केहीबेरअघि उडेको हो ।

आज फर्किएका सबै जना दूतावासको फारम भरेर प्राथमिकतामा परेका नागरिक हुन् । फर्किनेमध्ये १ सय १ जना महिला र ४७ जना पुरुष रहेका यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । १ सय १ जना महिलामध्ये ९४ जना गर्भवती छन् । उडानमा १० जना बिभिन्न रोगका कारण बिरामी छन् भने १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक रहेका दूतावासले जनाएको छ ।

फर्किनेमध्ये ३ जना जेष्ठ नागरिकसमेत रहेका छन् । गर्भवतीमध्ये २७ जनाका श्रीमान् पनि साथमै नेपाल फर्किएका छन् भने बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न यूएई पुगेकाहरु हुन् ।

आज उडेको विमानमा एक जनाको शव पनि नेपाल पठाइएको छ । गएको चैत २८ गते यूएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शव नेपाल पठाइएको नेपाली दूतावासकी श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिनुभयो ।

आज विभिन्न देशबाट चार सय १४ जना नेपाली स्वदेश फर्किएका छन् । कुवेतबाट जजिरा एअरमार्फत एक सय ५० जना, ओमानबाट सलाम एअरमार्फत एक सय ४६ जना, दोहाबाट कतार एअरमार्फत एक जना र मलेसियाबाट हिमालय एअरमार्फत एक सय १७ जना नेपाली स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

यसैगरी आज नेपालबाट चार वटा हवाइजहाज विभिन्न देशमा गएका छन् । त्रिभुवन विमानस्थलका अनुसार १५ जना नेपाली र एक जना विदेशी लिएर हिमालय एअर मलेसिया गएको छ । १३ जना बालबालिकासहित दुई सय ६३ जना यात्रु लिएर कतार एअर दोहा गएको छ । चार जना विदेशी लिएर हिमालय एअर दमाम र नेपाल एअरलाइन्सको जहाज यात्रु विना नै दुबई गएको छ । यस्तै आन्तरिकतर्फ तारा, सीता, एअर डाइनेस्टी, बुद्ध र मनाङ एअरले ६ वटा उडान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *