रसुवागढी नाका खोल्न चीन सहमत

News

काठमाडौं । रसुवागढी (केरुङ) नाका खोल्न चीन सहमत भएको छ । चीनले रसुवागढी नाकाबाट हुने आयातलाई सुचारु गर्ने विषयमा सहमति दिएको अर्थ मन्त्रालयका सहसचिव तथा द्विपक्षीय व्यापार महाशाखाका प्रमुख नवराज ढकालले जानकारी दिए ।

‘नाका खोल्ने विषयमा उहाँहरुबाट सहमति प्राप्त भयो । अब दुवै देशका स्थानीय निकायहरु बसेर कसरी त्यसलाई खुला गर्ने भन्ने विषयमा छलफल गर्छन् । त्यो छलफल टुंगिएपछि कारोबार सुचारु हुन्छ’ सहसचिव ढकालले भने ।

त्यो प्रक्रियालाई छिटो टुंग्याएर आयात निर्यातलाई सुचारु गर्न चाहे पनि चीनको तर्फबाट केही प्रक्रिया पूरा हुन बाँकी रहेकोले यसलाई पर्खेर बसेको समेत उनले बताए ।

‘हामी तयार भएर बसेका छौं, उहाँहरुको तर्फबाट तयारी सकिएपछि वार्तामा बस्छौं र टुंगो लाग्छ । अहिले कोभिडको कारणले हुनसक्ने स्वास्थ्य जोखिम कम गरेर कसरी आयातनिर्यात गर्ने भन्ने विषयमा छलफल हुने हो’ ढकालले भने ।

केरुङ नाका खुल्ने भएपछि अहिले व्यापारीहरु उत्साहित भएका छन् । उनीहरु नाका सुचारु भएलगत्तै सीमापारी रोकिएका सामान ल्याउने तयारीमा जुटेका छन् । अहिले सो नाकाबाट नेपाल भित्रिन तयारी अवस्थामा करिब १ हजार कन्टेनर रहेको राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नरेश कुटवालले बताए ।

‘नाका खोल्ने कुरामा हामी उत्साहित छौं । यो नाका खुल्यो भने रहेको ८ सय देखि एक हजार कन्टेनर सामान आउने बाटो खुल्छ । त्यहाँ प्राय जाडोका सामानहरु छन् । यसले दशैंको मागलाई धान्नसक्छ’ अध्यक्ष कटुवालले भने ।

चीनले यसअघि पनि केरुङ नाका खोल्न सहमति दिएको थियो । तर त्योबेला रसुवाका स्थानीय जनप्रतिनिधिले अवरोध गरेपछि रोकिएको नाका फेरि खुल्न सकेको थिएन । तातोपानी नाकाबाट भने अहिले आयात निर्यात नियमित रुपमा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *