तयारी अवस्थामा रहन सेनालाई प्रधानसेनापतिको निर्देशन

News

काठमाडौं /प्रधानसेनापति पूर्णचन्द्र थापाले पछिल्लो समय भारतसँगको सीमा सम्बन्धी समस्या बढ्दै गएपछि नेपाली सेनालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । भारतले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा आफ्ना सेना खडा गरेकोतर्फ लक्षित गर्दै प्रधानसेनापति थापाले सेनालाई यस्तो निर्देशन दिएका हुन् ।

आइतबार जंगी अड्डामा आयोजित दुई दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ समापन गर्दै प्रधानसेनापति थापाले पछिल्ले समय भारतले अतिक्रमण गरेको नेपाली भूभागलाई समेटेर सरकारले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा सेनालाई पनि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

उनले राष्ट्रिय, क्षेत्रिय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षाका विविध पक्षहरुमा पार्ने प्रतिकुल प्रभाव र असरहरुको सुक्ष्म अध्ययन विश्लेषण गर्दै रणनीति र कार्य योजना निर्माण गर्न समेत निर्देशन दिएका छन् ।

त्यस्तै प्रधानसेनापति थापाले राष्ट्रिय स्वार्थ प्राप्तिको लागि अविचलित भएर कर्तव्यपथमा लाग्न सेनालाई निर्देशन दिएका छन् । गएको हप्ता प्रधानसेनापति थापा भारतले अतिक्रमण गरेको कालापानी नजिकै दार्चुलाको छाङरु भन्ने स्थानमा पुगेर निरीक्षण गरेर फर्किएका थिए । पछिल्लो समय भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ताका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला सेनालार्य पनि सीमामा खटाउने सरकारको तयारी छ ।

‘नेपालको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण राख्दै आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदाझैं प्रतिवद्ध रहेको छ । पद्धती र प्रणालीमा आधारित संगठन निर्माणमा सम्पूर्ण सबैले जिम्मेवार, जवाफदेही, पारदर्शी र उत्तरदायी भएर कार्य गर्नू । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सांगठनिक हित, कल्याण र राष्ट्रिय स्वार्थ प्राप्तिको लागि अविचलित भएर कर्तव्यपथमा लाग्नू’, सेनालाई निर्देशन दिँदै उनले भने, ‘साथै राष्ट्रिय, क्षेत्रिय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षाका विविध पक्षहरुमा पार्ने प्रतिकुल प्रभाव र असरहरुको सुक्ष्म अध्ययन विश्लेषण गर्दै विकसित परिस्थिती सम्बन्धमा स्पष्ट अवधारणा, रणनीति र कार्य योजना निर्माण गर्नू ।’

नियमित रुपमा आयोजना हुने समन्वयात्मक बैठकमा जंगी अड्डास्थित विभिन्न कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य प्रगति विवरण र समिक्षा, कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण कार्यमा नेपाली सेनाले निर्वाह गर्दै गरेको भूमिका, राष्ट्रिय सुरक्षा वातावरणको समिक्षा तथा भविष्यमा आउन सक्ने चुनौती र सुझाव लगायत अन्य परिस्थितीजन्य विषयहरु सम्बन्धमा प्रस्तुतिकरण र छलफल भएको सेनाले जनाएको छ ।

बैठकमा पि.एस.ओज. रथी, सबै पृतना हे.क्वा.का पृतनापतिहरुलगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यका भित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरुको समेत उपस्थिती रहेको थियो ।

यस किसिमको समन्वयात्मक बैठक र सहभागीहरुबाट प्राप्त महत्त्वपूर्ण राय सुझावहरुले नेपाली सेनाको आगामी कार्यदिशा तय हुनका साथै नीति तथा योजना निर्माणमा समेत महत्त्वपूर्ण योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *