नेपालमै २० लाख रोजगारीका नयाँ अवसर सिर्जना गर्छौं, अब युवाहरुले विदेश जानु पर्दैन : राज्यमन्त्री दुगड

News

नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडसँग कोरोना महामारी र यसले सिर्जना गरेको संकट, वेरोजगारीको समस्या, निजी क्षेत्रले भोग्दै आएका अफ्ठ्यारा तथा यी यावत समस्याको समाधानका लागि सरकारले के—के काम गर्दैछ भन्ने विषयमा गरिएको कुराकानीः

तपाईं उद्यमी व्यवसायी पनि हुनुहुन्छ । देशले तपाईंजस्तो अनुभवी मन्त्री पाएको छ । यही बेला कोरोना महामारीजस्तो महासंकट आइपुर्यो र मुलुकले लामो समयदेखि लकडाउनको सामना गरिहेको छ । अहिले देशैभरि रहेका उद्योग, व्यावसायिक क्षेत्रहरु धरासायी भएका छन् । यसलाई उठाउन अब के गर्नुपर्छ ?

तपाईंले म उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री हुनासाथ कोरोना आयो र लकडाउन भयो भन्ने आसयको प्रश्न गर्नुभयो, यो मेरो दोष त होइन (हा हा हा) । यो एउटा संकट र चुनौती पनि हो । तर यसबाट डराएर हुँदैन । यसप्रकारका महामारी वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महाविपत्तीहरु त आइरहन्छन् । मान्छेको जिन्दगी नै स्ट्रग्लिङ हुनुपर्छ ।

स्मुथ हुनुहुँदैन । यस्तो हुनु पनि पर्छ । समस्या आउँछन् र सँगसँगै समाधान पनि निििस्कन्छन् । यो एउटा ठूलो समस्या देश र जनताको लागि मात्रै नभएर विश्वकै लागि हो । यसको पनि समाधान हुन्छ । मुलुकले लकडाउनको सामना गरेको करिब ३ महिना भइसकेको छ । यो तीन महिनाको अवधिमा कोरोना भाइरस कोभिड १९ पनि निक्कै कन्ट्रोल भइसकेको छ । तर एकातिर संक्रमितहरु बढेको बढ्यै छन् ।

हाम्रो टेस्टिङ बढेसँगै संक्रमित बढेको देखिएको हो । तर यी नयाँ संक्रमित हुन् भन्न मिल्दैन । यो समस्या भारतबाट आउने र केही मात्रामा समुदायमा पनि देखिएको पक्कै हो । तर यो देशभित्र फस्र्ट स्टेजको मात्रै हो । यो समुदायस्तरमा भने अझै सरिसकेको छैन । यसबाट धेरै चिन्तत हुनुपर्ने, डराउनुपर्ने अवस्था छैन ।

अब सरकारले लकडाउनलाई विस्तारै लुज गर्दै गइरहेका अवस्था पनि छ । अब हाम्रो व्यापार, उद्योगधन्दाहरु पनि बिस्तारै सुचारु गर्दै लौजाने सरकारले नीति अख्तियार गरेको छ । यसबीचमा हामीसँग चुनौतीहरु पनि अनगिन्ती नै छन् । यो सानो कुरो होइन । तीन महिनादेखि हामी पूर्णरुपमा शिथिल भएर बसेका छौँ । बेरोजगारीको ठूलो समस्या देखिएको छ ।

रोजगारीका लागि विदेशिएका हाम्रा युवाहरु पनि फर्किएर आइरहेका छन् । अब लाखौँको संख्यामा युवाहरु फर्किन्छन् । २० औँ लाखको संख्यामा बेरोजगारीको सिर्जना हुन्छ, यसमा शंका छैन । विश्वमा आर्थिक मन्दी छाइसकेको छ र त्यो हामीकहाँ पनि हुन्छ । अब यो आर्थिक मन्दीलाई कसरी पार लगाउने, कसरी समस्या समाधान गर्ने, कसरी रोजगारीको सिर्जना गर्ने ? यी यावत् विषयहरु गम्भीररुपमा हाम्रा सामू उभिएका छन् । यसमा हामी योजना बनाएर अघि बढ्छौँ ।

यहाँ रोजगारीको सिर्जना गर्न हामीले एसएमइज, एमएसएमइज, अन्य किसिमका साना ठूला उद्योगहरुलाई बढावा दिने, कृषि क्षेत्रमा आधुनिकीकरण गरेर आत्मनिर्भर हुने, उद्योगहरुमा आत्मनिर्भर हुँदै जाने, नयाँ नयाँ उद्योगधन्दाहरु स्थापना गर्नका लागि स्टार्टअप नेपालजस्तो महाअभियानलाई अगाडि बढाउन लागिएको छ । हाम्रा सिक युनिट (रुग्ण उद्योग) हरु छन्, निजी उद्योग र सरकारी संस्थानहरु सबैलाई पुनर्जागरण अस्तिवमा ल्याउने कार्यमा सरकार जुटेको छ । यी यावत पहलकदमी लिएपछि पक्कै पनि हाम्रा आर्थिक गतिविधिहरु अगाडि बढ्छन् ।

तपाईंकै मिडियामार्फत् म हामी रेमिटेन्सको भरमा मात्रै कहिल्यै बस्नु हुँदैन भन्ने सन्देश पनि दिन चाहान्छु । मैले त यो कुरो पहिलदेखि नै भन्दै आएको छु । पाखुरीमा बल भएको युवाहरुलाई स्वदेशमै राख्नुपर्छ, विदेशिन दिनु हुँदैन । उनीहरुका लागि नयाँ नयाँ काम गराउनुपर्छ । हामीले स्टार्टअप नेपालमार्फत् हाम्रा लाखौँ युवाहरुलाई भेन्टिलेटर, रोबर्ट, कम्प्युटर नेपालमै बनाउन लगाइरहेका छौँ । त्यसका लागि निर्यात्को ठूलो अर्डर पनि आइरहेको छ । यहाँका हस्पिटलमा भेन्टिलेटर सप्लाइ गर्ने काम पनि सुरु भइसकेको छ ।

नेपाली युवाहरु धेरै ट्यालेन्टेड र शिक्षित छन् । यिनीहरुले आफ्नो देशमा अवसर पाएनन् । उनीहरुका लागि स्वदेशमै अवसर दिन सकियो भने यहाँ देखिएका बेरोजगारी समस्या समाधान हुन्छन् । युवा भनेका देशको कर्णधार हुन् । उनीहरुलाई हरतरहले सपोर्ट गर्नुपर्छ, काम दिनुपर्छ, अवसर दिनुपर्छ, उनीहरुको प्रोडक्ट, सेवालाई हामीले महत्व दिनुपर्छ । उनीहरुको प्रोडक्टलाई मार्केट दिनुपर्छ । त्यसो गर्दा उनीहरुमा उत्साह बढ्छ । यसले गर्दा उनीहरु काममा जान्छन्, रोजगारी पाउँछन् ।

हाम्रो देशमा सानो सियो पनि बन्दैन । हामी हरेक चीज भारतलगायत अन्य मुलुकमा निर्भर छौँ । ती चीजहरु हामी यहीँ किन बनाउन सक्दैनौँ ? यतातिर हामीले ध्यानै दिएनौँ । अहिले हाम्रो मन्त्रालयले पनि जुन बस्तु नेपालमा बन्दैन, त्यसमा ठूलो लगानी पनि गर्नु पर्दैन त्यस्ता उद्योग र वस्तुहरुको हामीले लिष्ट बनाएका छौँ । जसले पहिलो उद्योग नेपालमा खोल्ने लक्ष्य लिन्छ, उसलाई धेरै सहयोग गर्ने नीति सरकारको छ ।

त्यस्ता उद्योगहरुलाई धेरै सुविधा दिएर सरकारले सहयोग गर्छ । हामी त्यस्ता उद्योगमा जान सबैलाई अपिल पनि गरिरहेका छौँ । तपाईंहरु आउनुहोस्, तपाईंको लाइसेन्स सिस्टमदेखि लिएर बजारको व्यवस्थापन, कच्चा पदार्थदेखि आइडिएम, सेज, ग्राम उद्योगहरु छन्, तिनलाई समेत हामी स्थान दिन्छौँ । तपाईंहरुलाई बिजुलीदेखि करसम्मका विषयमा हामी सुविधा दिन्छौँ । स्वदेशमै बसेर जो जसले नयाँ उद्योग खोल्छन् उनीहरुलाई अधिकतम् स्वतन्त्रता दिने सरकारको नीति छ ।

अब हामी अधिकतम् मात्रामा आत्मनिर्धर हुनैपर्दछ । हामी हरेक चीजमा अरुसँग निर्भर छौँ । ठूल्ठूला सिमेन्ट फ्याक्ट्री, जुटमिल, स्टिलमिल र तेल उद्योगले मात्रै चल्दैन । यहाँ त सानोदेखि सानो बस्तु पनि उत्पादन गर्नुपर्दछ । हामी औद्योगिकीकरणमा जाने कुरा गरिरहेका छौँ । औद्योगिकीकरणमा जान त उद्योगले उत्पादन गर्ने हरेक वस्तु यहाँ उत्पादित हुनुपर्छ गर्नुपर्छ ।

उदाहरणको रुपमा हामीभन्दा भौगोलिक क्षेत्रफल र जनसंख्या आदि हिसाबले पनि धेरै सानो मुलुक हो ताइवान । तर यसको उत्पादन विश्वमा देखिन्छ । किनभने उनीहरुले गुणस्तरीय सामान बनाउँछन् । सरकारले उद्योमीहरुलाई प्रोत्साहित गर्नुपर्छ । अब हामी पनि गर्छौं । हामी ताइवानभन्दा कम छैनौँ । हामी पनि गुणस्तरीय सामान उत्पादन गरेर नेपाली ब्राण्डलाई लोकप्रीय बनाउन सक्छौँ । यतातिर हामीले सोच बनाउनुपर्छ ।

अब हामीले मानसिकता बदल्ने बेला आइसकेको छ । अब गरिब मानसिकता तथा पुरानो मानसिकताले हुँदैन । अब आधुनिक मानसिकताले काम गर्नुपर्छ । हाम्रो इच्छाशक्ति, आत्मविश्वास बढाउने बेला आइसक्यो । यदि यी कुराहरु हामीले आत्मसाथ गर्यौँ भने पक्क पनि हामी हामी धेरै अगाडि बढ्न सक्छौँ । त्यसो हुँदा विकसित देशहरुको श्रेणीमा आउन हामीलाई समय लाग्दैन । हामीसँग भएका जति पनि सम्भावना छन् तिनलाई इमान्दारितापूर्वक उपयोगमा ल्यायौँ भने काम गर्न समय लाग्ने छैेन ।

अहिले हाम्रा सरकारी संस्थानहरु अधिकांश बन्द छन् । केही चालु छन् भने ती पनि घाटामा छन् । निजी क्षेत्रका धेरै उद्योगहरु पनि रुग्ण बनेर बन्द भइसकेको अवस्था छ । त्यस्ता उद्योगहरुलाई पुनर्जीवन दिनका लागि हामीले एउटा कन्सेप्ट बनाएका छौँ । एउटा प्लानिङ गर्दैछौं । त्यो हिसाबले हामी सबै उद्योगलाई पुनः चलाउने छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *